Wednesday, August 10, 2011

पर्दा "

निर्मिमेष
यात्राका बिसौनीमा
नियास्रो मान्दै 
एकोहोरो सुसाएका
समीका पातहरु
शायद,
तिम्रो उपस्थिति
चाहँदैछन् |

निशंकोच
अक्काश छेड्ने रुखमा
रहरका मुजुरा हाल्दै
पलाएका पालुवाहरु   
शायद
तिम्रो हरियाली
चाहँदैछन्

निर्वस्त्र
झ्यालका वर्गाकारमा
संवेदनाका लाज छोप्दै
टाँगिएका पर्दाहरु
शायद
तिम्रो रंगको बुट्टा
चाहँदैछन् |||






Monday, August 8, 2011

पर्दा

झिस्मिस्सेमा
एउटा पर्दा
चिह्याउँछ !
लाग्छ !
त्यो पर्दा
मेरै प्रतिक्षामा
महिनौ !
झुन्डिरहेछ,
त्यहि किल्ला

त्यहि डोरीमा |


रत्ति भर
अत्तिदैन कहिल्यै !
उसलाई कुनै
हत्तारो छैन,
न त
डग्मगाउँछ उसको
पर्खाई |

सुन्दरतामा
अधिन छ
उसको
तर घमण्ड छैन
जिम्मेवारी छ
लापरवाह छैन
त्रास छ
चिन्ता छैन
उत्साह छ
निराशा छैन |

त्यसैले त

पर्दा हो
प्रतिबिम्ब हैन

गजल 'पर्दा'

झल्याक झुलुक चम्किएथ्यो कोठा भित्र बत्ति मर्दा
पोहोर परार पनि यस्तै भाथ्यो पहिले डेरा सर्दा

डराई डराई निस्किएथें अर्को कोठा खोज्न भनि
एउटा मुहार झल्किएथ्यो मैले ढोका लाउँदै गर्दा

गणेश स्तोत्र पाठ गर्दै साँचो खल्ती भित्र हालें
दुइटा नयन टल्किएथ्यो अँध्यारो त्यो सिंढी झर्दा

शहर मलाई जिस्क्याए झैं गरि फिस्स हास्दै थियो
टाउको घुमाई हेर्दा देखें आफ्नै झ्यालको मैलो पर्दा

Friday, July 22, 2011

पर्दा र म !

समयको बारीमा हेर्न अतितको झ्यालमा लगाइएको त्यही पुरानो सम्झना रुपी पर्दाबाट नियालेका दृष्यहरुको संगालो " पुरानो पर्दा"